ताजा समाचार

एमालेको आशालाग्दो यात्रा रोक्न पाँच दलीय गठबन्धन : महासचिव पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको बढ्दो शक्ति र लोकप्रियता रोक्न पाँच दलको गठबन्धन बनेको आरोप लगाएका छन्।

बुधबार बिहान वक्तव्य जारी गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँचदलीय गठबन्धन।’

अब हुने तीन तहको चुनावबाट गठबनधनका दल हार्ने र आफ्नो पार्टीले जित्ने दाबी पनि उनले गरेका छन्।

‘अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिने छ’, पोखरेलले भनेका छन्, ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्। एजेन्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो।’

अब विगतमा पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेरिस्त बोकेर जनताका बीचमा जान उनले आफ्नो पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन्।

‘जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ’, उनले दाबी गरेका छन्।

तत्कालीन प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेयता नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन बनेको छ।

यी पाँच दल आगामी स्थानीय तह तथा संघीय चुनावसम्मै गठबन्धनमा रहने भने पनि एमसीसीको विवादले उनीहरूको कार्यगत एकता धरापमा परेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org