ताजा समाचार

प्रतिक्रियावादीहरू घेरा हालेर सखाप पार्न लागे, माओवादी शक्तिहरू एकजुट हुन आवश्यक: प्रचण्ड

काठमाडौँ,२५ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित पाँच दर्जन नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा स्वागत गरेका हुन् । चन्द नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नै माओवादीमा समाहित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

दाहालले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनको भनाई थियो ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’ उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको बताए ।

उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।

प्रवेश गर्नेहरूका तर्फबाट तिरुवाले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष दाहाल नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष दाहाल नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनको भनाई थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org