ताजा समाचार

देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ बनेको भए म खुसी नै हुने थिएँ : रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावअनुसार नै आफूले एमसीसी अनुदान सम्झौताको विरोध गरेको बताएका छन् ।

प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताएका थिए । बुधबार सामाजिक सञ्जालमार्फत ओलीको भनाइको जवाफ दिँदै रावलले आफू पार्टीसिद्धान्त अनुरुप उभिएको र संसद्‍को छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीतिविपरीत भएको बताएका छन् ।

एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका थिए । साथै रावल ‘व्यक्तिगत रूपमा हिरो’ बन्न खोजेको समेत ओलीले बताएका थिए । ओलीले भनेका थिए, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो ।’

त्यस्तै आफूले राष्ट्रिय स्वाधिनता र हितको पक्षमा संसद्‍मा आवाज उठाउँदा मन पोलेको भए देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ भएको भए आफू खुसी नै हुने पनि रावलले बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसद्‍मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’

आइतबार एमसीसी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गरेका थिए । ओली नै संसद्मा उपस्थित रहेका बेला रावल रोष्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी भएका थिए । उनले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । उनी संसद्मा एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मतविभाजनमा समेत सहभागी भएका थिए । उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गरेका थिए । एमालेले भने एमसीसी सम्झौता पारित भएसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org