ताजा समाचार

माओवादी केन्द्र केन्द्रीय कमिटीको बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।

गएको शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org