ताजा समाचार

पदाधिकारीमा सहमति गर्न सकेनौं, अब चुनावपछि : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकस परेको छ। पदाधिकारीमा सहमति जुट्न नसकेकाले स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन हुने पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

गुरुङले भने,‘सहमतिमा पदाधिकारी चयनको प्रयास भइरहेको छ। सहमति हुन नसकेकाले अब चुनावपछि मात्रै चयन हुन्छ।’ आजको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यलाई पूर्णता दिने र स्थानीय तहको चुनाव लक्षित छलफल हुने गुरुङले बताए। बैठकमा पदाधिकारी चयन, एमसीसी र स्थानीय निर्वाचन लगायतका एजेण्डालाई छलफलको मुख्य विषय बनाइएको छ।

केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिलाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्य गरिरहेका छन्। महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको कडा प्रतिस्पर्धा छ। यो पदमा सहमति नजुट्दा पार्टीको केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। पार्टीका कमिटीलाई पूर्णता नदिएको भन्दै पार्टीभित्र प्रचण्डको चर्को आलोचना भइरहेको छ।

पुस १८ गतेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो। वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ। महाधिवेशन भएको दुई महिनासम्म पनि पदाधिकारीले पूर्णता नपाउँदा पार्टी सञ्चालनमा समस्या भइरहेको छ। अपूरो केन्द्रीय समिति चयन गर्दै पुस ११–१८ जारी पार्टी आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं सकिएको थियो। बन्दसत्रमा प्रचण्डले महाधिवेशन आयोजक समितिका तर्फबाट दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६२ जना रिक्त राखेर दुई सय ३७ जनाको नाम प्रस्तुत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org