ताजा समाचार

म्याग्दीमा निर्वाचनको तयारी तीव्र

काठमाडाैं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिए । “चुनावमा खटाउने सम्भावित कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौँ”, उनले भने, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ती दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।” निर्वाचन कार्यालयले दुई हजार ३६७ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाएको थियो ।

६ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ । ११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ सहयोगी कर्मचारी गरी कूल ५६१ सुरक्षाकर्मी बाहेकका जनशक्ति नियुक्ति गरिने निर्वाचन अधिकारी घिमिरेले बताए ।

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको छ । ९६ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीका ७४ मतदानस्थलमध्ये १५ वटालाई अति संवेदनशील, ४९ लाई संवेदनशील र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, उनले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।” निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २७७ सहित ३८० नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । सबै स्थानीय तहमा एक÷एक वटा घुम्ती टोली परिचालन गरेर गस्ती थालिएको छ ।

जिल्लामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् । २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org