ताजा समाचार

देउवालाई ओलीको प्रश्नः अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थी भेट्न किन दिएको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहायकमन्त्रीले तीब्बती शरणार्थी भेट्न दिएको विषयमा प्रश्न गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जेया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको विषय उठाउँदै ओलीले अहिलेको सरकारले विदेशी कूटनीतिज्ञ, मन्त्रीहरू र प्रतिनिधिहरूको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यताअनुकुल बनाउन नसकेको आरोप लगाए ।

सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिंदै ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाए । उनले अघि भने, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’

उनले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गरेका छन् । ‘कति लाचारी ? सत्ता कति प्यारो ? वात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ उनले भने,’गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । तपाईंहरूको तीन दिन कामज्वरो हट्दैन । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’

सरकारलाई अस्थायी, म्यादी सरकार भन्दै आलोचना गरेका उनले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताए । नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उनले छद्म नीति नलिन आग्रह गरेका छन् ।

ओलीले अघि भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org