ताजा समाचार

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं: पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि एकता हुने बताएका छन् ।

दुई पार्टीबीच विचार र कार्यदिशामा समानता रहेको भन्दै उनले एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति भइसकेको जानकारी दिए ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं,’ मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’

विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए ।

यस्तै, पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको छ ।’

यस्तै, उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए । मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org