ताजा समाचार

संसदीय प्रक्रियाबाटै पारित होला त नागरिकतासम्बन्धी विधेयक ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको हिजै (आइतवार) दोस्रो पटक डाकिएको बैठक आज (सोमवार ) बस्ने भएको छ । हिजोको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

आइतवार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो मात्र सुरु भएको थियो । बैठक सुरु हुनेवित्तिकै नागरिकता विधेयक प्रमाणीकरण भएको विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले बैठक अवरोध गरेका थिए । प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गर्नुभएको थियो । तर प्रतिपक्षले विरोध कायमै राख्ने भएपछि हिजो बस्ने भनिएको बैठक संसद् आज (सोमबार) बिहान ११ बजेसम्मका लागि सरेको हो । सङ्घीय संसद् प्रनिनिधिसभाले सूचना जारी गर्दै बैठक आजका लागि सरेको जानकारी गराएको थियो ।

नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ । हिजोको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले नागरिकता विधेयक संसदमा प्रस्तुत गरेर प्रक्रियाबाटै जानुपर्ने धारणा राख्नुभएको थियो । राष्ट्रियसभाको बैठकमा पनि प्रतिपक्षले यो विषय उठाएपछि हिजोको बैठक स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org