ताजा समाचार

आज जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्ती

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको बिहीबार ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह काठमाडौंमाआयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा  राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।

वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो। भण्डारी त्यसबेला ४१ वर्ष उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’(जबज)को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भए। भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ। एमालेसँग तत्कालीन नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्दा पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका थिए।

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बुका डा. मिङमार गेल्जेन शेर्पा र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिने भएको छ। उनीहरुलाई जनही एक लाख नगदसहितको सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ। देशभर फाउण्डेसन र एमालेले रक्तदान, विचार गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org