ताजा समाचार

रिक्त न्यायाधीश पदपूर्ति ढिला भए न्याय सम्पादनमा अझै समस्या हुन्छ:प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्ने बताएका छन् । न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा अदालतको न्याय सम्पादन प्रक्रियामा नै अवरोध आउनसक्ने उनको भनाइ छ । आइतबार न्यायिक पत्रकार मञ्चको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानन्यायाधीश कार्कीले सबै तहमा ६० जना न्यायाधीश पद रिक्त रहेको बताए । सर्वोच्च अदालतमा मात्रै ७ जना न्यायाधीशको पद रिक्त रहेको कार्कीले जानकारी दिए । कार्की स्वयं साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

न्यायाधीश नियुक्तिमा ढिलो भइरहँदा प्रक्रियामा रहेका मुद्दाको फैसलामा ढिलाइ हुने र समयमा न्याय सम्पादन हुन नसक्ने अवस्था आएको कार्कीले बताएका छन् । उनले भने, ‘समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा समस्याहरु उत्पन्न भइरहेका छन् । मुद्दाहरु ब्याकलक हुनेछ । संविधानले १ महिनाअगावै न्यायाधीशहरूको नियुक्तिको सिफारिस गर्नुपर्ने व्यवस्था छ । कार्यान्वयन हुन सकिरहेको छैन । संविधान कडाइका साथ पालना गर्ने, खाली हुनासाथ नियुक्ति गर्ने व्यवस्था लागू गर्न सक्नुपर्छ ।’

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको मापदण्ड निर्देशिका बनाएर लागू गरिएको बताए । मापदण्डविनाको न्यायाधीश नियुक्तिले समस्या ल्याएको भन्दै उनले वस्तुनिष्ठताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्ने व्यवस्थाको लागि मापदण्ड बनाएर लागू गरिएको बताए ।

न्यायपरिषद्को बैठक लामो समयदेखि बस्न नसक्दा न्यायाधीश नियुक्तिको मुख्य प्रक्रिया नै रोकिएको छ । परिषद्को बैठक परिषद्का सदस्यहरूको कार्य व्यस्तताको कारणले बस्न नसकेको बताइएपनि कानूनमन्त्री र प्रधानन्यायाधीशबीचको मतभेदका विषय पनि बाहिर आइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org