ताजा समाचार

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताउनुभएको छ ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताउनुभयो । ‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन’, महामन्त्री शर्माले भन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उहाँले गुनासो गर्नुभयो । ‘बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो’, महामन्त्री शर्माले भन्नुभयो ।

मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उहाँको भनाइ थियो । ‘हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो’, महामन्त्री शर्माले भन्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org