ताजा समाचार

संवेदनशील विषयमा ठट्टा नगर्न कांग्रेस महामन्त्रीलाई एमाले उपमहासचिवको चेतावनी

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई सत्तारुढ दलकै नेताले ठट्टाका रूपमा लिएको भन्दै यस्तो संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै रिमालले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महँगो पर्ने चेतावनी समेत दिएका छन् ।

बुधबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोग गठनको विषयलाई लाज छोप्ने रङिन टालोको संज्ञा दिएका थिए । शर्माको सोही प्रतिक्रियाप्रति सङ्केत गर्दै एमाले उपमहासचिव रिमालले उनको नाम नलिई सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्क्याउने रङिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरूको नियतमा खोट भएको टिप्पणी गरेका हुन् ।

बुधबार सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रमुख दलहरुबीच सहमति भएको थियो ।

सो सहमतिपछि बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङिन टालो भएको टिप्पणी गरेका थिए । शर्माको सोही भनाइप्रति रिमालले आपत्ति जनाएका हुन् ।

यस्तो छ रिमालको स्टाटस

मित्रहरु, संवेदनशील विषयमा “ठट्टा” नगरौं कि!
एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समायो।
बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजिकरणमा परिवारका मानिस नै तम्सिएको समाचार बाहिरियो। “चुरोट त सुन पो रहेछ भन्ने सुचना लिक हुँदा नहुँदै समातिएको मध्ये केही सुन गायब पारियो… !

यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारी कै सांसद उफारी संसद अबरोध हुनु संयोग मात्र थिएन । 
अन्तत: छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै “प्रभावशाली” भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ। 
अहिले यत्ति चाँहि भनौं- मित्रहरु, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org