ताजा समाचार

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेट, भ्रमणका एजेण्डाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ ।

प्रचण्डलाई भेटन राजदूत सोङ शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका थिए । उनीहरूबीच झण्डै एक घण्टा चीन भ्रमणका विषयमा सघन छलफल भएको स्रोतले बताएको छ ।

भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ। बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ।

भ्रमणमा उठाउनुपर्ने सबै विषयबारे अहिले छलफल मात्र भएको छ,प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,‘एजेण्डाहरू अहिले टुंगिएको छैन । बीआरआई परियोजना अघि बढाउन चीनको दबाब चाहिँ छ । ’

प्रधानमन्त्री प्रचण्डले हालै चीनले सार्वजनिक गरेको नक्साबारे समेत राजदूत सोङसँग चासो राखेको स्रोतले बताएको छ ।  चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा केही छिमेकी मुलुकको नक्सा समेत राखेको छ । तर, चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा छिमेकी मुलुक नेपालको पुरानो नक्सा राखेको छ ।

गत सोमबार चीनको प्राकृतिक स्रोत साधानसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको छ । चीनको सो कदमप्रति नेपालमा चौतर्फी विराध भइरहेको छ । २०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो ।

त्यसबेला संविधान संशोधन गर्न सबै दलहरु एकमत भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्ध गरेका छन् । उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए ।

प्रधानमन्त्री दाहाल असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुत्तः राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट दाहाल चीन जाँदैछन् । असोज ६ गते चीनको हाङचोओमा एसियाली खेलकुद समारोहको उदघाटन हुँदैछ । एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org