जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।
भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान् स्व श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।
विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुन्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरू नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुईँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछन् ।
‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।
घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’ गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो ।
‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यति बेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’ बीपी कति पटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’
सादा खाना बीपी बाबुले खाने गरेको प्रधान बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ— बीपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ बीपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’ बीपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो ।
प्रधानले भनिन, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’ बीपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरूले पनि दिए ।’
बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । बीपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ?’
ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनले अहिले पनि ताजै छ ।
गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ । बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो ।
बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।’ आफ्नो घरमा बीपी आउँदा घर वरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, ‘म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।’ सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, ‘सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।’
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...












