ताजा समाचार

जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो ।

‘हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ’, प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो । सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उहाँको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्र्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ’, उहाँले भन्नुभयो । सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु जनाताको हितका लागि एकबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको भनाइ व्यक्त गर्नुभयो । कम्युनिष्टहरु एक–अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का जनतालाई पर्ने उहाँको भनाइ छ ।

पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो’, उहाँले भन्नुभयो । अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिनुभयो ।

समाजबादी फोरमका नेता शिवलाल थापा मगर पहिचानबादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गर्नुभयो । संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उहाँले धन्यवाद दिनुभयो ।

उहाँले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org