ताजा समाचार

मन्त्रिपरिषद्को विशेष बैठक बस्दै, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन्।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन्।

प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कूटनीतिक पहल गरेका हुन्।।

प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए। प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए।

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।

सो बैठकले परराष्ट्र मन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरेको छ। उक्त टिमको बैठकले उद्दार र नेपाली फिर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org