ताजा समाचार

रविको राजनीतिक प्रतिवेदन: मध्यावधि हुन सक्छ, तयार बसौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ साल अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको कामबाट व्यापक असन्तुष्ट छन् । अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ०८४ कै चुनाव ताकिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल पनि मिसन ०८४ नै भन्दैछ । अन्य दल पनि ०८४ तिरै हेरिरहेका छन्,’ उनले भनेका छन् । लामिछानेले अगाडी भनेका छन्, ‘सरकारमा सहभागी र प्रतिपक्षी दल समेत मिसन २०८४ मा लाग्नुको मतलव यो संसदबाट काम गर्न नसकिने निष्कर्ष प्रमुख दलहरूको छ,’ मध्यावधि हुन सक्छ । त्यसैले हामी सचेत भएर प्रस्तुत हुन जरुरी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमा समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका छन् ।  बैठकमा पारित राजनीतिक प्रतिवेदनमा उनले पार्टीको केन्द्रदेखि वडासम्मको संरचनामा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको र समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका हुन् । साथै उनले समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु आफुहरुको ठूलो कमजोरी भएको भन्दै यसलाई यसलाई यथाशीघ्र सुधार गर्न आग्रह गरेका छन् ।

‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएकोछ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो,’ उनले भनेका छन्, ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्द्छु । जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ । आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरूबाट पनि चाहन्छु ।’

साथै उनले आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा मधेश प्रदेशलाई राखेका छन् । त्यसैगरि लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेद अन्त्य गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् । साथै उनले शून्य सहनशीलताको नीति लागु गर्ने भन्दै पार्टीका कुनै पनि तह र तप्कामा रहेका कुनै पनि सदस्यबाट विभेदयुक्त व्यवहार गरे त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org