ताजा समाचार

हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गर्यो

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान सुरु गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो । उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।

काठमाडौं–सांघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौवटा सहरमा उडान विस्तार गरेको छ ।

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत–जावत गरिरहेको जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले सांघाई–काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसंख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org