ताजा समाचार

जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल भएको टिप्पणी गरेका छन् ।

इलामको उपनिर्वाचनमार्फत पपुलिजम स्वीकार्य नभएको सन्देश जनताले दिएको उनले बताए ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातिवाद स्वीकार्य नभएको सन्देश पनि उपनिर्वाचनले दिएको उल्लेख गरे । कोसी प्रदेशको नामकरणविरुद्ध एमालेलाई नियोजित रूपमा कमजोर पार्न आन्दोलन चलाइएको उनको भनाइ छ ।

महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बनाउँदा नेपाललाई विश्वको एउटा नमुना राष्ट्रका रूपमा पुर्‍याउन सफल भएको जिकिर गरे । तर, षड्यन्त्रपूर्व एमाले नेतृत्वको सरकार विस्थापन गर्दा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए । मुलुक अप्ठ्यारो अवस्थामा लामो समय रहे सम्हालन नसक्ने स्थितिमा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्तासमीकरण बनाइएको उनले सुनाए ।

उनले वर्तमान सत्तासमीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाई रोकेर अघि बढाउन सक्ने मान्यताका साथ एमाले सरकारमा सहभागी भएको बताए ।

महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरि टाउको जोड्ने कुरा गरेको उल्लेख गरे । अहिले टाउको नभई कार्यकर्ताको मन जोड्न जरुरी रहेकामा उनले जोड दिए ।

नेपाली कांग्रेससँग मिलेर पञ्चायत ढाल्नुपर्छ भनेबापत पुष्पलाललाई ‘गद्दार’ भन्ने मोहनविक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडि कुदिरहेको उनले टिप्पणी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org