ताजा समाचार

एमालेले आज पनि प्रतिनिधि सभा बैठक अपरोध गर्ने: तीन मन्त्रीको राजीनामा बटमलाइन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने भएको छ ।

बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनले आफूहरुको अवरोध जारी रहने बताउँदै भने, ‘जबसम्म प्रश्न उठेका मन्त्रीहरूको राजीनामा आउँदैन, तबसम्म कार्यक्रम परिवर्तन हुँदैन ।’ उनले विभिन्न विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा एमालेको बटमलाइन भएको बताए ।

एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक ११ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org