ताजा समाचार

माधव नेपाललाई ओलीको फोन- सरकारमा सहभागी हुनुस्, मिलेर अगाडि बढौं

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् ।

उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए ।

अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए ।

ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

नेपालले भने प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा आउन आग्रह गरेको स्मरण गर्दै पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको उनले बताए ।

कांग्रेससँग गठबन्धन तोडेर (एमाले)सँग नयाँ गठबन्धन बनाउने प्रक्रियामा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेपाल रुष्ट देखिन्छन् ।  कांग्रेस सम्मिलित गठबन्धन तोडेर सोमबार एमालेसहितको गठबन्धन बनेको थियो । गठबन्धनमा एमाले-माओवादीसहित रास्वपा र जसपा अटे पनि एकीकृत समाजवादी भने अटेको छैन ।

यसअघि केही दिनअघि नेपालले जनकपुर पुगेर देश बनाउने कुरामा सबै पूर्वप्रधानमन्त्रीहरूबीच सहकार्य हुनुपर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org