ताजा समाचार

नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ : चीन

काठमाडाैँ । चीनले नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले नेपाली पार्टीहरुले मिलेर राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविका सुधारका लागि काम गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा उठेको हो। नेपालको राजनीतिक घटनाक्रमबारे उठेको जिज्ञासामा परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले नेपालको नयाँ गठबन्धनले स्थिरता पैदा गर्ने विश्वास व्यक्त गरेकी हुन्।

प्रवक्ता माउले नेपालमा नयाँ सत्ता गठबन्धन निर्माण गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दलले एकताबद्ध भई सहकार्य गर्ने विश्वास व्यक्त गरेकी छन्।

उनले मैत्रीपूर्ण छिमेकी र सहयोगात्मक साझेदारी भएकाका कारण पनि चीनले चीन–नेपाल सम्बन्धमाथि उच्च महत्व दिएको उल्लेख गरिन्।

‘हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई कायम राख्न, आफ्नो परम्परागत मित्रतालाई थप गहिरो तुल्याउन, व्यापारिक सहयोगलाई मजबुत पार्न र चीन–नेपाल रणनीतिक साझेदारी अघि बढाउन इच्छुक छौँ,’ उनले थपिन्। सोमबार मात्र नेपालमा सत्ता गठबन्धन परिवर्तन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org