ताजा समाचार

बुढासुब्बा गोल्डकप: एनआरटी र मोरङ फुटबलबीच आज फाइनल

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिजो पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ ।

विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले जानकारी दिनुभयो ।

यता चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ । ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको बताउनुभयो । युवा खेलाडी आफूहरूको टिममा भएकाले उपाधि जित्न सक्ने उहाँको भनाइ छ ।

धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org