ताजा समाचार

प्रेमिकाको हत्या गरेर फरार भएका प्रेमी शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् । चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् ।

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।

‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीनजिक शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने ।

शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिका कुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org