ताजा समाचार

दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने

काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

हिजो अस्तिको तुलनामा आज मौसम केही सफा हुने तर भरे रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

स्थानीय प्रणाली समेत सक्रिय हुँदा भरे रातीपछि मध्य र पूर्वका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । यस्तै भरे रातिदेखि सक्रिय हुने प्रणालीले यो हप्ता नै प्रभाव पार्ने त्रिभुवन विश्व बिद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा। विनोद पोख्रेलले बताउनुभयो ।

रातिदेखि आउने प्रणालीले पश्चिम तराईका वर्षा हुने सम्भावना कम रहे पनि बाँकी भुभागमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पोख्रेलले बताउनुभयो । मौसम पूर्वानुमान् महाशाखाले पनि आउँदो मङ्गलवारसम्मको पूर्वानुमानमा बदली र बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org