ताजा समाचार

राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास भएन: मन्त्री गिरी

काठमाडाैँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताएका छन् ।

पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएकाे भेटघाटमा उनले देशमा स्थिर सरकारको आवश्यकता औँल्याए ।

पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।

कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए । कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए ।

कतिपय कानुन संशोधन गर्न जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरू बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org