ताजा समाचार

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडाैँ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आइतबार सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् ।

नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए ।

नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए । चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उनले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताए ।

सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org