ताजा समाचार

आईपीएलमा कोलकाता पहिलो पटक पराजित, चेन्नईले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्स पराजित भएको छ । यो उसको पहिलो हार हो । सोमबार राति भएको खेलमा चेन्नाई सुपर किङ्ससँग कोलकाता ७ विकेटले पराजित भयो । लगातार तीन खेल शानदार ढंगले जितेको कोलकाता साविक विजेता चेन्नईसँग पराजित भएको हो । टस जितेर सुरुमा फिल्ड रोजेको चेन्नाईले कोलकातालाई १३७ रनमा समेटेको थियो । पूरै २० ओभर खेलेको कोलकाताले ९ विकेटको क्षतिमा १३७८ रन मात्र बनाएपछि चेन्नईले सहज जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । अघिल्लो खेलमा शानदार प्रदर्शन गरेका सुनिल नारायण २७ रनमा समेटिए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे । रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोडे । कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे ।

१३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले ५८ बलको सामना गर्दै ९ चौकाको मद्दतमा नटआउट सर्वाधिक ६७ रन बनाए । उनको शानदार अर्धशतकमा चेन्नईले कोलकातामाथि १४ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १४१ रन बनाएर शानदार जित निकालेको हो । चेन्नईका लागि शिवम दुबेले २८ रन बनाउँदा डेरिल मिचेलले २५ रन जोडे । रचिन रविन्द्रले १५ रन जोड्दा महेन्द्रसिंह ध्वनीले नटआउट ३ बल खेलेर १ रनमा रोकिए ।

कोलकाताका लागि वैभव अरोराले २ र सुनिल नारायणले १ विकेट लिए । यो जितसँगै चेन्नई पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पहिलो हार खाएको कोलकाता चार खेलमा तीन जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ । आईपिएल अन्तर्गत मंगलबार साँझ पञ्जाब किंग्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org