ताजा समाचार

देशका विभिन्न ठाउँमा वर्षा,चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ ।

बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । यसैबीच हिजोको वर्षाले काठमाण्डौ उपत्यकाको प्रदूषण घटाएको छ । वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेपछि प्रदूषण केही कम हुन थालेको हो । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो ।

आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ । हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो । एक्यूआई दुई सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org