ताजा समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्  । मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा समीकरण फेरिएपछि चैत ५ गते मधेश सरकारबाट कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । उनले यो सहित १५ महिनामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद रहेका छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।

मधेश प्रदेश सरकारमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा रहेकाले सरकारसँग स्पष्ट बहुमत रहेको भएपनि संविधानको प्रावधान अनुसार विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका २२ र जनमत पार्टीका १३ जना सदस्य रहेका छन् । यी दुई पार्टीको मत मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा जाने सम्भावना रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org