ताजा समाचार

एकतावद्ध भएर अघि बढ्न नसक्नु नै मुख्य कुरा हो : श्रेष्ठ

narayan-kaji-shrestha-2

प्रमुख राजनीतिक दलहरु यतिखेर विभाजित बनेका छन् । संविधान जारी भएको एक वर्ष सम्पन्न भएको छ ।  संविधान जारी गर्दा एक भएका प्रमुख दलहरु संविधान कार्यान्वयनको विषयमा उदासिन बनेको जनताका गुनासाहरु छन् । यीनै विषयमा केन्द्रित रहेर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजि श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :

यो एक वर्षमा संविधानले जनतालाई के दियो त ?

– संविधान घोषणा भएसँगै राजतन्त्रको अन्त्य भएर युगान्तकारी परिवर्तन नै भएको हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा छ । खाद्य सम्प्रभुता र आवासलाई नागरिकको मौलिक अधिकारको रुपमा सुनिश्चितता गर्ने, धर्मनिरपेक्षता घोषणा गर्ने र संघीयतामा देशलाई लैजाने यी आधारभुत उपलब्धिहरु नयाँ संविधानमार्फत संस्थागत भएका छन् । तिनिहरुको कृयान्वयनको लागि जुन किसिमले नेपाली जनताहरुले अपेक्षा गरेका थिए, त्यो हुन नसकेको हो । त्यस्तो स्थिति सिर्जना हुन सकेको छैन् । नयाँ संविधान कार्यन्वयन चाहीँ अहिलेपनि चूनौतिपूर्ण अवस्थामा छ ।

कार्यान्वयनको पाटोमा हामी कहाँ चुक्यौं त ?

– त्यसको दुईवटा पाटा छन् । मुख्य पाटो त नेपालका राजनीतिक पार्टीहरुले संविधान घोषणा गर्दा जुन एकता प्रर्दशन गरेका थिए, त्यही गम्भिरताका साथ र त्यही एकताका साथ दलहरु अहिले प्रस्तुत हुन सकेका छैनन् । राष्ट्रिय सहमतिको भावनालाई आत्मासाथ नगर्नु नै दुःखद कुरा हो । एकतावद्ध भएर अघि बढ्न नसक्नु नै मुख्य कुरा हो । र अर्को पाटो भनेको संविधान जारी भएपछि हाम्रो छिमेकीहरुले जुन प्रकारको भूमिका खेल्यो त्यसलेपनि नेपालमा एक किसिमको समस्याहरु पैदा भैरहेका छन् ।

अर्कोतिर नेपालभित्रै पनि संविधानप्रति असन्तुष्टि जनाउने शक्तिहरु पनि छन् । र त्यसलाई सम्बोधन गर्न जुन प्रकारको पहलकदमी लिनुपर्ने हो प्रारम्भदेखि त्यसो हुन सकेको छैन् । त्यो पहलकदमी पनि नुहुनु र उहाँहरुले पनि त्यसलाई अतिवादी ढंगले वा निषेधात्मक ढंगले हेर्नु संविधान कार्यान्वयनमा देखा परेका चूनौतिहरु हुन् ।

एक वर्षमा तीन तीन जना व्यक्ति प्रधानमन्त्री भएका छन्, यो देशमा जनताले के पाउँछन त ?

– हो, तपाईले सही प्रश्नको उठान गर्नुभएको छ । नेपालस्थित एक जना विदेशी राजदुतले मसँगको भेटमा भन्दैथिए कि उनी आफ्नो कार्यकालमा चार जना प्रधानमन्त्रीसँग भेट्ने भाग्य पाए रे । यो कस्तो व्यँग्य हो भन्नुहोस त । त्यसकारणले हाम्रो गति राम्रो छैन । हाम्रा कृयाकलापहरु राम्रो छैनन् । नेपालका सबै राजनीतिक दलहरुले यसबारेमा गम्भिरता देखाउनुपर्छ । हामीले अब राष्ट्रलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ । हामीले अब राष्ट्रिय एकता, भौगोलिक अखण्डतालाई आँच आउने काम नगरी अघि बढ्नुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org