ताजा समाचार

‘नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना’

 

उर्लाबारी, २० माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ ।
बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो ।
मन्त्री शाहीले मन्त्री भएको चार महिना समय मध्ये तीन महिना धार्मिक पर्यटनको विकासका लागि देशका गाउँहरूमा घुमिरहेको बताउनु भयो । धर्मको नाममा कसैलाई गलत्याउन नहुने उल्लेख गर्दै उहाँले धर्मका नाममा राजनीति र राजनीतिलाई धर्मसँग तुलना गर्न नमिल्नेमा जोड दिनुभयो । पुराण अनुष्ठान भन्नासाथ स्थानीयसँग पैसा संकलन गर्ने संस्कृतिले हिन्दु धर्मलाई कमजोर पार्ने धारणा राख्दै मन्त्री शाहीले स्वत स्फुर्त रुपमा धर्मानुरागी बाट प्राप्त दानले मात्र सत्कर्म पछ्याउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले मरेका बुवाआमाको नाममा गरिने दान र पुराण भन्दा जीवित छदैं गरिने सेवा भाव अझ महत्वपूर्ण हुनेमा जोड दिँदै अहिलै जेष्ठ नागरिकको सेवा गर्न अनुरोध गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीनकुमार विश्वकर्माले पुराण अनुष्ठानहरूले सामाजिकीकरण बढेको बताउनु भयो । जातीय,धार्मिक र सामाजिक भेदभावको अन्त्यका लागि पुराणले जागरण ल्याएको उहाँको भनाई थियो । धार्मिक स्वतन्त्रताले कसैको पनि अधिकार कुण्डित नगर्ने चर्चा गर्दै उहाँले धर्मका नाममा भइरहेको विबादले समस्या समाधान नगर्ने बताउनु भयो ।
केन्द्रीय वाल कल्याण समितिका अध्यक्ष एवं कार्यक्रमका संयोजक डिल्लीराम गिरीको सभापतित्वमा भएको उद्घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला,योग प्रशिक्षक लोकनाथ खनाल र स्थानीय उच्च माविका प्रधानाध्यापक रामचन्द्र पण्डितले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
एकीकृत हातेमालो समाजको आयोजनामा भएको सप्ताह ज्ञान महायज्ञमा पण्डित बैकुण्ठशरण उपाध्यायले कथावाचन गर्नुहुने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org