ताजा समाचार

विश्वमै सबैभन्दा धेरै हतियार बेच्ने देश अमेरिका

 

स्टकहोम। भारत विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता देश बनेको छ । भारतले सन् २०१२ देखि २०१६ सम्ममा विश्वभर भएको हतियार खरिदबिक्रीको १३ प्रतिशत एक्लैले आयात गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

यसैगरी विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देशको पहिलो नम्बरमा अमेरिका रहेको छ । अमेरिकाले मध्यपूर्वका देशहरुमा सबैभन्दा बढी हतियार निर्यात गर्ने गरेको छ । अमेरिकाले विश्वभर गर्ने कुल निर्यातमध्ये आधा निर्यात मध्यपूर्वमै हुने गरेको प्रतिवेदनले देखाएको छ ।

अमेरिकापछि रुस, चीन, फ्रान्स र जर्मनी हतियार बेच्ने देशहरुको सूचीमा छन् । कुल निर्यातमा यि देशहरुको हिस्सा ७४ प्रतिशत रहेको छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्यूटको प्रतिवेदनका अनुसार भारतमा हतियार आयातमा ४३ प्रतिशतले बृद्धि भएको समेत देखिएको छ ।

भारतपछि साउदी अरब सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । साउदी अरबले सन् २००७ देखि २०११ को तुलनामा सन् २०१२ देखि २०१६ को अवधिमा २ सय १२ प्रतिशत बढी आयात गरेको प्रतिवेदनमा छ ।

रुसले भारत, भियतनाम, चीन र अल्जेरियामा हतियार निर्यात गर्ने गरेको पाइएको छ । रुसले विश्वभर हुने हतियार निर्यातको २३ प्रतिशत निर्यात गर्ने गरेको छ ।

चीनले पनि निर्यात बढाएको देखिन्छ । सन् २०११ सम्म ३ दशमलव ८ प्रतिशत रहेको निर्यात सन् २०१६ सम्म आइपुग्दा ६ दशमलव २ प्रतिशत पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org