ताजा समाचार

प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न पार्टीलाई सुझाव दिन प्रध्यापकहरुसँग देउवाको आग्रह

काठमाडौं २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मंसिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक संघ बुद्धिजीवी संस्था भएकाले दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका छन् ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे ।

सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा विभिन्न स्वार्थसिद्ध गर्नका लागि हस्तक्षेप बढाउँदै गरेकाले देश लथालिङ्ग भएको बताउँदै अहिलेको अवस्थामा प्रजातन्त्रवादी प्राध्यापकले विज्ञ समूहका रुपमा देशको राष्ट्रियता र एकताका निमित्त पार्टीलाई दिशानिर्देश गर्नुपर्ने विचार व्यक्त गरे ।

रक्षामन्त्री बालकृष्ण खाँणले प्राज्ञिक उन्नयन र प्रजातन्त्रको रक्षाका लागि प्राध्यापक क्रियाशील हुनुपर्नेमा जोड दिए ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक दलले भागबन्डामा प्रहरी प्रमुख, राजदूत नियुक्ति गर्दा त्यसमा प्रजातन्त्रका लागि संघर्षशील पार्टी नेपाली कांग्रेसले पनि साथ सहयोग गरेकामा चिन्ता व्यक्त गरे।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष वासुदेव घिमिरेले नयाँ संविधानअनुसार प्रादेशिक संरचनामा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

शनिबारसम्म जारी रहने सो महाधिवेशनमा एक हजार २७२ प्रतिनिधि सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org