ताजा समाचार

मधेसी जनतामाथि गोली ठोकेर सरकारले युद्धको घोषणा गरेको यादवको आरोप

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । उनले आफूविरुद्ध भएको युद्धको घोषणाको जवाफ मधेसी जनता दिन तयार रहेको बताए ।

सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा संघीय गठबन्धन र मधेसी मोर्चाले अब राष्ट्रिय चरित्रको आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘राजनैतिक शिष्टाचार अनुरुप एक हप्ताको समय दिएका हौं, त्यो अवधीमा माग पूरा नभए राष्ट्रिय रुपमै आन्दोलनको घोषणा हुन्छ, जसको संकेत २७ फागुनको बन्दले देखाइसकेको छ ।’ सप्तरी घटना मधेसप्रतिको नीति र चरित्रमा सरकार र एमालेको शासकवादी तथा नश्लीय चरित्रलाई उदांगो पारेको आरोप लगाउँदै यादवले भेदभाव र असमानता रहुञ्जेल संघर्ष जारी रहने बताए । उनले भने,‘काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाए जसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको हो ।’

एमाले नेताहरुको सामूहिक हत्या गर्ने आरोपको खण्डन गर्दे अध्यक्ष यादवले भने,‘एमालेसित मुठभेड भएको होइन्, एमालेको उक्साहटमा सरकारले गोली चलाएर पाँचजनाको नरसंहार गरेका हुन् ।’ ‘मधेसीलाई हेर्नेवित्तिकै अनुहारकै कारण प्रहरी प्रशासनलाई एर्लजी हुने गरेको छ’ यादवले भने ‘जुन नश्लवादी चिन्तनको उपज हो ।’ एमालेको अभियानले राष्ट्रिय एकता तोडने र देश विखण्डनको विजारोपण गर्ने यादवले आरोप लगाए ।
आफूहरु निर्वाचनविरोधी नभएको बताउँदै यादवले भने, ‘संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म निर्वाचन हुन सक्दैन, हुन दिँदैनौ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org