ताजा समाचार

कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

काठमाडौँ, ३० फागुन । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने÷नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“सरकार निर्वाचनका लागि जुटिरहेको छ निर्वाचन निश्चित रुपमा हुन्छ, सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।”

उहाँले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो – “मधेसकेन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।”

राप्रपाका अध्यक्षसमेत रहनुभएका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छोड्नु राम्रो काम होइन ।” डा लोहनीले पार्टी छाड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उहाँको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org