ताजा समाचार

ट्रम्पलाई अदालतको अर्को झड्का : यात्रा प्रतिबन्धमाथि फेरि रोक

 

न्युयोर्क/अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पले मुसलमानको बाहुल्य रहेका देशका नागरिकमाथि लगाएको नयाँ यात्रा प्रतिबन्धलाई संघीय न्यायाधीशले रोकिदिएका छन् । हवाईका संघीय न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धलाई रोक लगाएका हुन् । हवाई राज्यका सरकारी वकिलले ट्रम्पको नयाँ आदेशले मुसलमान आप्रवासीमाथि भेदभाव गरेको भन्दै सोविरुद्ध यसै साता मुद्दा दायर गरेका थिए ।

कार्यान्वयन हुनु केही घन्टाअघि आदेश
६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा आउनुभन्दा केही घन्टाअघि संघीय न्यायाधीशले रोक्ने फैसला गरेका हुन् । ट्रम्पको आदेश बिहीबार रातिदेखि कार्यान्वयन हुने तयारीमा थियो । राष्ट्रपति ट्रम्पले ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा ९० दिन र शरणार्थीका लागि एक २० दिन प्रतिबन्ध लगाएका थिए । प्रतिबन्ध लगाएका देशमा लिबिया, सोमालिया, सुडान, सिरिया, यमन र इरान रहेका छन् ।

‘ट्रम्पको आदेशले घृणा फैलायो’
ट्रम्पको कार्यकारी आदेशले कुनै निश्चित धर्मप्रति घृणा जगाएकोे अदालतको फैसलामा उल्लेख छ । हवाई राज्यका न्यायाधीश डेरिक वाट्सनले ट्रम्पको संशोधित आदेश राष्ट्रिय सुरक्षाको सवालसँग जोडिएको भन्ने सरकारको तर्कलाई पुष्टि गर्ने आधार नभएको बताए । सन् २०१५ मा ट्रम्पले प्रेस विज्ञप्ति जारी गरी अमेरिकामा मुसलमानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने आशय व्यक्त गरेको र ट्रम्पका सल्लाहकार रुडोल्फ गिउलियानीले गत जनवरीमा ट्रम्पको प्रतिबन्धलाई ‘मुस्लिममाथिको प्रतिबन्ध’ भन्ने अभिव्यक्तिलाई पनि अदालतले सन्दर्भका रूपमा जोडेको छ । यसअघि ट्रम्पको संशोधित आदेशका विषयमा हवाई राज्यमा विरोध भएको थियो । प्रतिबन्धले पर्यटनमा असर गर्ने, विदेशी कामदार र विद्यार्थीको भर्ना प्रक्रियामा प्रभाव पार्ने सो राज्यले तर्क गरेको थियो ।

कमजोर हुँदै ट्रम्प
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले मुसलमानलाई निसाना बनाएका छन् । दुईवटा कार्यकारी आदेशमार्फत उनले मुसलमानलाई अमरिकामा यात्रा प्रतिबन्ध लगाए पनि अदालतले दुवैपटक अस्वीकार गरेको छ । अतिवादीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न सो कदम चालिएको ट्रम्पले बताउँदै आएका छन् । तर, आलोचकले ट्रम्पले निश्चित देशका नागरिकलाई विभेद गरेको बताएका छन् । ट्रम्पले यसअघि लगाएको यात्रा प्रतिबन्धसम्बन्धी आदेशको अमेरिकी सहरमा तीव्र विरोध भएको थियो भने ट्रम्पको आदेश जारी हुँदा अमेरिका प्रवेशका लागि विमानमा उडेका मानिस विमानस्थलमा उत्रँदा अन्योलमा परेका थिए । उनको प्रतिबन्धलाई सियाटलका न्यायाधीशले रोक लगाइदिएका थिए ।

‘न्यायपालिकाले अनावश्यक हस्तक्षेप गर्यो‍’
संघीय अदालतको पछिल्लो फैसला कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेप भएको राष्ट्रपति ट्रम्पले बताए । फैसलालाई दोषपूर्ण बताउँदै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिने उनले बताए । ‘फैसला दोषपूर्ण र न्यायपालिकाको अप्रत्याशित हस्तक्षेप हो,’ उनले भने । हवाईको फैसलाविरुद्ध नाइन्थ सर्किट अफ अपिल्समा पुनरावेदन गरिने उनले बताए ।

राष्ट्रिय सुरक्षाको मामिलामा संविधानले राष्ट्रपतिलाई आप्रवासीलाई निलम्बन गर्न सक्ने अधिकार दिएको र ट्रम्पका कुनै पनि आदेशले धर्मका आधारमा विभेद नगरेको ट्रम्प प्रशासनले तर्क गरेको छ । संशोधित प्रतिबन्ध पूर्वराष्ट्रपति बाराक ओबामाको ६ वटा मुस्लिम मुलकका नागरिकमाथि अमेरिका प्रवेशमा लगाएको कडाइको निरन्तरता भएको न्याय मन्त्रालयका वकिलहरूले तर्क गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org