ताजा समाचार

२६ दलले पाए पुरानै चुनाव चिह्न

काठमाडौं । स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।

संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।

संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जनाएको छ ।

यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न परेको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच आफूले पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीका कारण विवाद भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org