ताजा समाचार

चुनाव अघि नै नयाँ शक्ति र संघीय समाजवादीबीच पार्टी एकता गर्न पहल सुरु

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ । नयाँ शक्तिको वार्ता टोलीका संयोजक रामचन्द्र झाले पार्टीको बैठकमा चुनाव अघि नै पार्टी एकता हुने संकेत दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को बैठकमा झाले वैशाख १ गते पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकता हुने बताए । बैठकमा सहभागी एक नेताले भने, ‘उहाँ निकै उत्साहित देखिनु भएको थियो । ठूलो ध्रुविकरण ‘पार्टी एकता’ हुन्छ भन्नु भएको छ ।’

झाले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि नयाँ शक्तिसँग एकता वार्ता भइरहेको स्वीकार गरेका छन् ।

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ शक्ति निकटतम शक्तिमा पर्ने र आफ्नो पार्टी पनि एकीकरणको पक्षमा रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org