ताजा समाचार

‘पर्पला’ अब सबैकी

काठमाडौं । नयाँ पुस्तक सार्वजनिक गर्न लेखक तथा प्रकाशकले साहित्य क्षेत्रका चर्चित व्यक्तिहरुको हातबाट विमोचन गराउने चलन छ । तर, साहित्यकार मिलन सङ्ग्रौलाद्वारा लिखित दोस्रो कृति ‘पर्पला’ को भने भिन्न तरिकाबाट विमोचन  गरिएको छ । सङ्ग्रौलाको पहिलो कृति कथासङ्ग्रह च्याट–गर्ल हो ।

वुक–हिल प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गढमा सांगीतिक वातावरणकाबीच कलाकारहरु सुगम पोख्रेल, मिलन अमात्य, रेखा शाह, वुक–हिलका अध्यक्ष भुपेन्द्र खड्का र  प्रबन्ध निर्देशक पवन आचार्यले संयुक्त विमोचन गरेका हुन् ।

प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी पवन आचार्यले साहित्यलाई उत्सवको रुपमा मनाउन उक्त कार्यक्रमको आयोजना गरिएको वताए ।

त्यस्तै उपन्यासकार तथा लेखक मिलन सङ्ग्रौलाले  ‘च्याट-गर्ल’ कथालाई पाठकहरूले मन पराएपछि उपन्यास ‘पर्पला’ लेखेको दाबी गरे । उनका अनुसार पहिलो कृति योजनागत नै लेखेको भए पनि दोस्रोको लागि कथावस्तु थिएन ।

लेखनमा भ्याकुम नै छायो । पाठकहरूको ‘नयाँ कृति कहिले आउँदै छ ?’ भन्ने प्रश्नबीच घेरिएपछि साढे दुई वर्ष लगाएर उपन्यास ‘पर्पला’ तयार पारेको उनले सुनाए । ‘पहिलो लेख्दा त धेरै हुटहुटी र उत्साह थियो । मनबाटै लेखेँ,’ सङ्ग्रौला भने, ‘दोस्रोचाहिँ लेख्दा दिमागबाट लेख्नुपर्ने रहेछ ।’ युवाहरुलाई लक्षित गरेर त्रिकोणात्मक प्रेम कथामा उपन्यास लेखिएको बताउँदै ‘पर्पला’ अब  सबैको भएकी उनले  वताए ।

नायिका रिमा विश्वकर्माले सञ्चालन गरेकी उक्त कार्यक्रममा  पोखरेलले ‘म यस्तो गीत गाउँछु…’ गाए । शाहले लोक फ्लेबरका पुराना ‘सैको घर कहाँ होला…’ र ‘सिमसिमे पानीमा…’ गीतको रिमिक्स भर्सन सुनाउँदा दर्शकहरू मञ्चमै नाच्न पुगे । अमात्यले रिलिज हुन बाँकी ‘मिलन संजोग’ एल्बमको ‘के सम्झ्यौ मलाई…’ गीत सुनाइन् भने फिल्म ‘नोटबुक’ को ‘गाला रातै गाला रातै…’ गीत सुनाइन् ।

पुस्तकको आवरण मोडल स्वस्तिमा खड्का हुन् भने पुस्तकको सुन्दर लेआउट तथा आवरण डिजाइन सुवर्ण हुमागाइँले गरेका हुन् । पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org