ताजा समाचार

बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल

काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

उनले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

संसद्‌को आगामी अधिवेशन शुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी  (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन शुरू हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन् ।

सभामुख घिमिरले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग-अलग छलफल भएको थियो ।

संसद्‌को बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि शुरू हुँदैछ । बर्खे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत चिनिन्छ ।  संसद्‌को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग-अलग भेट गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org