ताजा समाचार

प्रहरीको हस्तक्षेप बढेपछि राजपा एकाएक नरम, आन्दोलनका कार्यक्रम संशोधन

काठमाडौं, ५ असार । निर्वाचन विरुद्ध आन्दोलनको घोषणा गरेका राजपा एक्कासी नरम बनेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई बिथोल्न विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) एक्कासि ‘नरम’ भएको हो ।

राजधानीमा उपलब्ध राजपा नेपालका शीर्ष नेता र केन्द्रीय आन्दोलन परिचालन समितिको आइतबार बेलुका बिजुलीबजारमा बसेको संयुक्त बैठकले आफ्ना आन्दोलनका कार्यक्रममा फेरबदल गर्दै ‘नरम’ नीति अख्तियार गर्ने निर्णय गरेको हो ।

तराईहरूको आन्दोलन संशोधन भएको हो भन्ने जिज्ञासामा राजपाका नेता केशव झाले भने, ‘विभिन्न कारणले आन्दोलनमा थोरै मात्र संशोधन भएको छ । बीचमा ईद पर्व परेको छ । जनतालाई धेरै सास्ती दिनु हुँदैन भनेर कार्यक्रममा सामान्य संशोधन गरेका हौँ । यसको अर्थ हामीले आन्दोलन छाडेको वा कमजोर बनाएको होइन । आन्दोलन झन् सशक्त रुपमा अगाडि बढ्छ ।’

राजपा नेपालको संशोधित कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने, ७ देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधि र कार्यक्रमहरू अवरुद्ध गर्ने, असार १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते माटरसाईकल र्‍याली र असार १२ र १३ गते ईद पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि असार १२ र १३ गते तराई बन्दको आह्वान गरिएको थियो । राजपा नेपालले असार १४ गते भने मधेस र थरुहट बन्द तथा आमहडतालको कार्यक्रम यथावत राखेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org