ताजा समाचार

केन्द्रीय उपाध्यक्षसहित १२ जनामाथि सार्वजनिक मुद्दा लागेपछि राजपालाई ठूलो झट्का


नवलपरासी, ६ असार । प्रहरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्षसहित १२ जनाविरुद्ध सार्वजनिक अपराधनको मुद्धा चलाएको छ । चुनावविरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य हैदरअली मोमिन र जिल्ला संयोजक पुरन चौधरी लगायत १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको हो ।

प्रदेश ५ मा रहेको परासी क्षेत्रको स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै नवलपरासी प्रहरीले शनिबार र आइतबार गरी ३१ जनालाई पक्राउ गरेको थियो। प्रतापपुर र परासीबाट पक्राउ परेका उनीहरुमध्ये सोमबारसम्म १९ जनालाई छाडेर बाँकीलाई मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएका कार्यकर्तामा राजेन्द्र तिवारी, अशोककुमार गुप्ता, शेषनारायण केवट, महमद माली, राजेश्वर केवट, जयराम गुप्ता, लोकबहादुर चौधरी, मुरारी अग्रहरी र राममुरत चौधरी रहेका छन् ।

पक्राउ परेका उपर घटना भएको मितिले ३५ दिनभित्र सार्वजनिक अपराधमा मुद्दा दायर गर्नुपर्ने प्रावधान छ। सार्वजनिक अपराध ऐन अनुसार सजायको कसुरको मात्रा हेरेर बिगो बराबरसहित २५ हजारसम्म जरिवाना गरिन सकिने छ। जरिवानाले पर्याप्त हुन नदेखिएमा प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ।

केन्द्रीय उपाध्यक्षसहितका नेताहरु पक्राउ परेर मुद्धा खेपिरहेपछि राजपालाई ठूलो झट्का लागेको छ । विभिन्न वाहनामा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाई तथा लगाईएका झुट्टा मुद्धा फिर्ताको माग गरिरहेको राजपालाई उक्त घटनाले थप धक्का लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org