ताजा समाचार

मुस्लिम समुदायको पवित्र इद उल फित्र पर्व मनाउँदै, आज सार्वजनिक विदा

काठमाडौं, १२ असार । मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा आज देशभर इद उल फितर मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाउने गर्दछन् ।

खुशीपूर्वक दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आइतबार बेलुकी चन्द्रमा देखिएपछि सोमबार इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । इदको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद इदुल फितरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इदुल फितर) को शुभ अवसरमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति सु–स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताएका छन् । यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले समेत इदको शुभकामना व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org