ताजा समाचार

दोस्रो चरणको स्थानीय चुनावः मौन अवधि सुरु, चुनाव प्रचार प्रसार गर्न नपाईने

काठमाडौं, १२ असार । आसन्न दोस्रो चरणको निर्वाचनको लागि मौन अवधि सुरु भएको छ । आउँदो बुधबार १, ५ र ७ नम्बर प्रदेशमा हुन गईरहेको स्थानीय तह निर्वाचनको लागि मौन अवधि सुरु भएको हो । आइतबार राति १२ बजेदेखि सुरु मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार लगायत मतदातालाई प्रभावमा पार्ने कुनैपनि काम गर्न पाउँदैनन् ।

यो अवधिमा एसएमएस फेसबुक ट्वीटर लगायत सामाजिक संजालमा पनि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ । चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ वटै स्थानीय तहमा मौन अवधिमा गर्न नपाइने काम गरे नगरेको बारे अनुुगमन हुने निर्वाचन आयोगले जनाएको छ । अनुगमनमा उल्लंघन भएको भेटिए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै रद्द समेत हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसैबिच चुनावका लागि सोमबार पनि मतदाता परिचयपत्र वितरण पनि सुरु भएको छ । आउँदो बुधबार हुने चुनावका लागि सम्बन्धित मतदान केन्द्रबाट आइतबारदेखि परिचयपत्र वितरण सुरु भएको हो ।

आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सकिने आयोगले जनाएको छ । परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका ब्यक्तिले लिन सक्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org