ताजा समाचार

दोस्रो चरणको निर्वाचन आजः असारे भरीको प्रवाह नगरी मतदाताहरु मतदान केन्द्रतर्फ हिँड्न थाले

काठमाडौं, १४ असार । आज दोस्रो चरण अन्तर्गत ३ प्रदेशमा स्थानीय तह निर्वाचन हुँदैछ । आज प्रदेश नम्बर १, ५ र ७ का मतदाताहरु बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदानस्थलतर्फ हिँड्न थालेका छन् । कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि बिहानै घरबाट हिँडेका हुन् ।

दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । दिउँसो खेती किसानीको काम गर्नुपर्ने भएकाले पनि धेरै मतदातालाई बिहानै मतदान केन्द्रमा पुगेर भोट दिन आतुर छन् । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ ।

सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा बुधबार सार्वजनिक बिदा दिएको छ । १५ हजार ३८ जना प्रतिनिधि चयनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीन प्रदेशका ३५ जिल्लामा हुने मतदानमा ६४ लाख ३२ हजार ७ सात ६५ मतदाता छन् ।

चुनावमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव हुँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org