ताजा समाचार

गजेन्द्रनारायणको नाम आएपछि राजेन्द्र महतो, महन्त ठाकुर लगायतका राजपा नेताहरुलाई एलेर्जी

काठमाडौं, २२ असार । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो । विवादकै कारण पार्टी दर्ता हुन सकेन ।

अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो । उनीहरूबीच विधानमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने सहमति भएको थियो ।

बुुुधबार बिहान ११ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी थियो । त्यसैअनुसार निर्वाचन आयोगलाई खबर पनि गरिएको थियो । तर, बुधबारको बैठकको सुरुमै अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखे । त्यसमा राजकिशोर यादवले पनि साथ दिए ।

बैठकमा महेन्द्र राय यादवले भने सिंहको नाम विधानमा उल्लेख गर्न नसकिने अडान राखे । विधानको प्रस्तावनामा नेताको नाम राख्ने प्रचलन नभएको उनको तर्क थियो । सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्कुलिङबाट आएका राजेन्द्र महतो भने विवादमा मौन बसे । ढिलो गरी बैठकमा उपस्थित भएका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर पनि पक्ष–विपक्षमा बोलेनन् ।

विवाद भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको छ । बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने नेताहरूले बताएका छन् । ‘पार्टीको विधान र घोषणापत्रलाई अन्तिम रूप दिनेबित्तिकै पार्टी दर्ता गर्छौँ,’ बैठकमा सहभागी नेता महतोले भने, ‘मधेस आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने नेताको नाम त राख्नुपर्ने हुन्छ ।’ नेता राजकिशोर यादवले भने राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने विकल्पका रूपमा कसरी खडा हुने भन्नेबारे बैठकमा छलफल भइरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org