ताजा समाचार

राजपालाई देउवाको बचन, ‘ढुक्क हुनुहोस् ! संविधान संशोधन बाहेकका माग तीन दिनमा सम्बोधन गर्छु’

काठमाडौं, ४ साउन । संविधान संशोधन बाहेकका मागहरु तीन दिनमा सम्बोधन गरिने सत्तारुढ दलले राजपालाई आश्वासन दिएका छन् । संविधान संशोधनको माग तत्काल सम्बोधन गर्न नसकिने भन्दै सत्तारुढ दलहरुले अन्य मागहरु तीन दिनभित्रमा सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत दल राजपाका शीर्ष नेताहरुबीच भएको बैठकमा यस्तो आश्वासन दिएका हुन् । बैठकमा सरकारले निर्वाचनको वातावरण बनाउन तत्काल आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

सत्तारुढ दलहरुले एक दुई दिनमै मन्त्रिपरिषद् बैठक बोलाएर आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने, घाईतेको निःशुल्क उपचार र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने प्रतिवद्धता जनाएको बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘राजपाको अहिले माग निर्वाचनको वातावरण बनाउनुपर्यो‍ भन्ने हो, हामीले संविधान संशोधनबाहेक माग तीन दिनभित्रै सम्बोधन गर्छा भनेका छौ’ । उनले भने ।

संविधान संशोधनबारे सामान्य छलफल भएपनि पहिला अरु माग पुरा गरेपछि थप छलफल गर्ने गरी बैठक टुंगिएको श्रेष्ठले बताए । राजपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना मागको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको बताए । ‘सरकारले माग सम्बोधन गर्छु भनेको छ, हामी केही दिन हेर्छौ’ । उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org