ताजा समाचार

दाङमा २९ प्रतिशत बजेट विकासमा खर्च

 

 

 

दाङ, ९ मंसिर । यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९।८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि रु चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० को अख्तियारी आएको प्रमुख कोष नियन्त्रण शुकदेवप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

कात्तिक समान्तसम्म जिल्लामा रु एक अर्ब ४१ करोड ४५ लाख ३२ हजार १६० खर्च भएको छ । तर अघिल्लो वर्षका विकास निर्माणका कामले भने गति लिन सकेका छैनन् । पेश्की लिएर पनि काम नगर्ने प्रवृत्तिले फिल्डमा भने काम सन्तोषजनक देखिएको छैन । मध्यपहाडी लोकमार्गमा भएको प्रगतिले मात्रै विकास सूचक सन्तोषजनक देखिएको हो, तर जिल्लाका अन्य विकास निर्माणमा भने यो अवस्था देखिएको छैन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बाँस्कोटाका अनुसार औसतमा हेर्दा चार महिनामा ३३ प्रतिशत हुनुपर्ने हो तर यो विकास बजेट खर्च सन्तोषजनक नै हो । पहिलो चौमासिकमा विकाससम्बन्धी ठेक्का प्रक्रियामा जाने भएकाले काम कम हुने गर्छ । ठेक्का प्रक्रियामा समय लाग्ने भएकाले पनि विकासका काम शुरु नहुने उहाँको भनाइ छ । दोस्रो चौमासिकबाट विकासका काम बढी हुने गर्छन् । जिल्लामा कात्तिक मसान्तसम्म सबैभन्दा बढी विकास बजेट मध्यपहाडी लोकमार्गमा खर्च हुन पुगेको छ । लोकमार्गमा कात्तिक मसान्तसम्म रु एक अर्ब तीन करोडभन्दा बढी खर्च गरेको छ ।

कार्यालयका अनुसार साउन महिनामा रु पाँच करोड नौ लाख ८० हजार २०० विकास बजेट खर्च भएको छ । भदौ महिनामा रु १८ करोड ५४ लाख ९२ हजार नौ, असोज महिनामा रु ७१ करोड चार लाख ८१ हजार ११ र कात्तिक महिनामा रु ४६ करोड ७५ लाख ७८ हजार ४८ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । स्थानीय तह तथा संघ र प्रदेशको चुनावले गर्दा पनि कम खर्च भएको यसका जानकारहरु बताउँछन् । सबैको ध्यान निर्वाचनतर्फ रहेकाले पनि विकास निर्माण सुस्ताएको छ । स्थानीय तहहरुमा अहिलेसम्म उपभोक्ता समितिसमेत गठन हुन सकेका छैनन् । उपभोक्ता समिति गठन हुन नसकेर पनि विकास निर्माणका काम शुरु नभएका हुन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org